काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनल खेल गर या मरको अवस्थामा रहेको बताएका छन्।
‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएकाे खेलमा घरेलु टाेली नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेकाे छ। गोल गर्ने राम्रो अवसर खेर फालेको नेपालले उपाधिका लागि बंगलादेशसँग नै फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
नेपालका मुख्य प्रशिक्षक महर्जनले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्नेसमेत बताए। ‘नहार्न रणनीति थियो। त्यो सफल भयो। फाइनलमा पुगेका छौं। अब ट्रफी उचाल्ने हाम्रो लक्ष्य रहेको छ। हामीले दुई खेलमा गोल गर्न सकेनौं। फाइनलमा गोल गर्दै जित्ने योजनामा छौं’, प्रशिक्षक महर्जनले भने।
त्यस्तै, प्रशिक्षक महर्जनले लगातार दुई खेलमा गोलबिहीन हुँदा खेलाडीमा केही तनाब भने उत्पन्न भएको स्वीकारे। ‘फाइनल गर या मरकै अवस्था हो। पछिल्लो समयमा हामीले गोल गर्न सकिरहेका छैनौं। फाइनलमा त्यस्तो नहोला। गोल गर्नेछौं भन्ने विश्वास छ,’ उनले भने।
त्यस्तै, खेलमा प्लेयर अफ दि म्याच घोषित भएका रोहित चन्दले पनि फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने दावी गरे। ‘गोल निस्किएन। फाइनलमा पुगेका छौं। अब उपाधि जित्ने नै लक्ष्य हो,’ उनले भने।
यता, बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल झनै प्रतिस्पर्धा हुने भएकाले थप चुनौती थपिएकाे प्रतिकृया दिए।
लिग चरणको अन्तिम खेल खेल्नुअघि नै बंगलादेश फाइनलमा पुगेको थियो। नेपाल पनि फाइनलमा पुग्दा कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग १-० गोलले हारेको कीर्गिस्तानले नेपालसँग भने गोलरहित बराबरी खेलेको थियो।
बंगलादेशविरुद्ध नेपालले गोल गर्ने राम्रो अवसर पायो तर, गोल गर्न सकेन। प्लेइङ इलाभेनमै पर्दै त्रिदेव गुरुङ र सन्जोक राईले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे। त्यसो त, निशान खड्काले दोस्रो हाफमा मैदानमा छिर्दै डेब्यु गरे।
खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टले राम्रो ठाउँमा गोल गर्ने अवसर पाएका थिए। तर उनले गरेको हेड पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।
खेलको २४ औं मिनेटमा त्रिदेवले गोल गर्ने अवसर पाएपनि उनको प्रहार गोलपोस्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनेटमा जमल हुयाले प्रहार गरेको फ्रिकिक नेपालको गोलपोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो।
५५ औं मिनेटमा रवि पासवानको स्थानमा सुनिल बल र सन्जोक राईको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे। खेलको ६५ औं मिनेट रन्जित धिमालको क्रस पासमा अभिषेक रिजालले गोल गर्ने राम्रो अवसर पाए। तर उनको हेड पोस्ट नजिकैबाट बाहिरियो।
खेलको ७१ औं मिनेटमा अभिषेक रिजालको स्थानमा दर्शन गुरुङ र रन्जित धिमालको स्थानमा निशान खड्कालाई मैदानमा प्रवेश गराएको थियो। योसँगै राष्ट्रिय टिमबाट निशानले डेब्यु गरे। खेलको ८७ औं मिनेटमा अन्जन विष्टको स्थानमा एरिक विष्टलाई मैदानमा प्रवेश गराएपनि नेपालले गोल गर्न सकेन।
अब नेपालले बंगलादेशसँग १६ गते सोमबार फाइनल खेल दशरथ रंगशालामा खेल्नेछ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल उपाधि रक्षा गर्न लक्षमा छ। त्यसो त बंगलादेश पनि यही रणनीतिमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।