काठमाडौं- कोरोना भाइरस संक्रमण(कोभिड-१९)को विश्वव्यापी महामारीका कारण अस्तव्यस्त बनेको जनजीवन पछिल्ला महिनामा केही सामान्य बन्दै आएको थियो। तर, छिमेकी मुलुक भारतलगायतका देशमा पुनः संक्रमणदर उच्च बन्दै जाँदा नेपालमा पनि त्रास फैलिएको छ।
कोरोना संक्रमणको दोस्रो लहर फैलनसक्ने भन्दै सरकारले कडाइ गर्न थालेको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यसअघि जारी गरिएका स्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले मास्क अनिवार्य लगाउन तथा भीडभाड हुनेगरी कार्यक्रम नगर्न सूचना जारी गरेका छन्। यही कारण पुनः लकडाउन हुने हो कि भन्ने चिन्ता सर्वसाधारणले गर्न थालेका छन्।
लामो र पीडादायी लकडाउन भोगेका सर्वसाधारण पुनः त्यही खालको लकडाउन गर्न नहुने बताउँछन्। उनीहरूले सबै व्यक्ति आफैं सचेत हुने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
यही सन्दर्भमा रहेर काठमाडौंका विभिन्न स्थानमा भेटेर गरेको कुराकानीका क्रममा व्यक्त विचारः
बादल यादव, कम्प्युटर इन्जिनियर, बानेश्वर
कोरोनाले सताएको करिब एक वर्ष बढी भइसक्यो। अब के गर्न हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा पनि सबैलाई थाहा भइसक्यो। यो कोरोनाको दोस्रो लहरमा पनि पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र भीडभाडबाट टाढा रहने गर्नु पर्दछ। कोरोनाको यो दोस्रो लहर सकेसम्म फैलिन दिनु हुँदैन। अहिले मानिसहरूमा पहिलेको तुलनामा डर पनि कम भइसक्यो। तर, यो रोगलाई सामान्य रूपमा नलिई डर मान्नु राम्रै हो।
कोरोना भाइरस फैलिँदै गयो भने लकडाउन र निषेधाज्ञा गर्नु उचित हो। र, यो सरकारको एउटा बाध्यात्मक कदम पनि हो। तर, लकडाउन मात्र समस्याको समाधान होइन, यसले मानिसलाई अर्काे पीडा थपिदिन सक्छ। यसले कस्तो असर पर्छ भन्ने कुरा पनि सरकारले ख्याल गर्नुपर्छ। पहिलेको लकडाउनमा घर जान मन भएका कति मानिसहरू साधनको अभावका कारण भोकभोकै बस्नुपर्यो, सबैको काठमाडौंमै घर हुन्छ भन्ने छैन। त्यसैले यस्ता कुराहरूमा सरकारको ध्यान जानुपर्छ र फेरि, पहिलाकै अवस्था आयो भने सरकारले जनतालाई सेवासुविधा दिनुपर्छ।
समृद्धि राई, विद्यार्थी
कोरोनाले हाम्रो स्वास्थ्यदेखि हामीजस्तो विद्यार्थीको समय नै बर्बाद गरेको छ। अब हामी आफैं सुरक्षित हुनुपर्छ। पहिलेकै जस्तो मास्क, स्यानिटाइजर र भौतिक दूरी अपनाउनुपर्ने, धेरै भीडभाड नहुनेगरी काम गर्नु पर्दछ। अब पहिलेको जसरी सधैँ लकडाउन नै गर्नु उचित हो जस्तो लाग्दैन। सुरूमा कोरोनाको बारेमा केही थाहा थिएन तर अहिले सबैलाई जानकारी भइसक्यो नि। सकेसम्म हामी सबैले लकडाउनभन्दा पनि आफैं सुरक्षित भएर अघि बढ्नु पर्दछ। म आफैं पनि अहिलेसम्म झोलामा स्यानिटाइजर बोकेर हिडिँरहेकी छु। साथीहरूले मास्क नलगाएको देखेँ भने म उनीहरूलाई कराइदिन्छु। त्यसैले हामी आफैंले हरेक मापदण्डहरू अपनाएर सुरक्षित हुन सक्छौं। लकडाउनभन्दा पनि आफैं अनुशासित भएर संक्रमणबाट टाढा हुन सक्छौं।
विनोद कायस्थ, भक्तपुर
सबैले आ-आफ्नो ठाउँबाट सुरक्षित भयौँ भने पहिलाको जस्तो सास्ती खेप्नु पर्दैन। कोभिडसँग लड्नका लागि अपनाउनुपर्ने मापदण्ड सबैले अनुशासित भएर अपनाउनुपर्छ। अहिले भ्याक्सिन पनि आएको छ, भ्याक्सिनलाई अझ जनताको माझमा पुर्याउने र डब्लुएचओले तोकेको मापदण्डअनुसार सरकारदेखि जनता सबैले यसकाविरुद्ध लड्नका लागि अघि बढ्नुपर्छ।
आफूमात्र नभई अरूलाई पनि सचेत गराउनु पर्दछ। यो समयमा लकडाउनभन्दा पनि अहिले बनेको विभिन्न खोपहरू छन् तिनिहरूलाई तीव्रता दिनुपर्छ। लकडाउन नै समस्याको समाधान होइन। यसले लाखौँ मानिसको रोजगारी गुमेको छ, मानसिक रोगहरूले मानिसलाई पिरोलेको छ, विशेषतः दैनिक ज्याला गरेर खानेहरू बढी मारमा परेका छन्। त्यसैले यस्तो स्थिति आउन नदिन सरकारले वैकल्पिक उपायहरू अपनाउनु आवश्यक छ। लकडाउनमात्र समस्याको समाधान होइन भन्ने कुरा हामीले अनुभव गरिसक्यौँ।
रमेश पराजुली, चाबहिल
नेपाल सरकारले यसअघि कोरोनाको संक्रमण रोक्न सक्ने अथवा कम गर्न सक्ने अवस्था हुँदाहुँदै पनि कतिपय कमजोरीले गर्दा वा चासो नदिएको हुँदा लकडाउन र निषेधाज्ञा जस्तो मार जनताले भोग्नुपर्यो। दोस्रो लहरमा पनि पहिलेकै जस्तो कोरोना फैलियो भने लकडाउन गर्न सकिन्छ, तर पहिलेको भन्दा नीति नियमहरू परिवर्तन गर्नुपर्ने देखिन्छ। जुन तरिकाबाट लकडाउन गरियोस् जसले गर्दा मानिसको जीवनमा ठूलो असर नपोस्। योभन्दा अगाडिको लकडाउनमा कतिपय मानिसहरू भोकभोकै मरेका थिए भने कतिले जागिर गुमाएर अहिलेसम्म पनि त्यत्तिकै बस्नुपरेको छ। यस्तो अवस्था आउनु पनि गलत कुरा हो। जनताले पनि पहिले कस्तो अवस्था आएको थियो भन्ने कुरालाई मनन गर्दै विभिन्न किसिमका मापदण्डहरू पालना गर्नु पर्दछ, जसले गर्दा सुरक्षित हुन सक्छौँ।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।