काठमाडौं- ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना चालक पक्राउ परेका छन्। शुक्रबार कालिमाटी र त्रिपुरेश्वरबाट एक/एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्रिपुरेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा बा.प्र. ३००१ च ०९१० नम्बरको सवारीसाधनका चालक शुभाषकुमार प्रजाले ५०० रूपैयाँ दिएर प्रलोभनमा पार्न खोजेका थिए। विपरीत दिशाबाट सवारी चलाएका कारण उनलाई कारबाही गर्न खोजिएको थियो। तर, आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने प्रजा आफैं पक्राउ परेका हुन्।
यसैगरी, कालिमाटीस्थित कनक पेट्रोल पम्प अगाडि खटिएका ट्राफिक प्रहरीलाई ३०० रूपैयाँ दिएर कारबाहीबाट उम्कन खोज्ने बा ५६ प २०४६ नम्बरको बसका चालक बुद्ध लामालाई पनि शुक्रबार पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ। सवारी जाँच गर्ने क्रममा उनीसँग कागजात नभएको पाइएपछि कारबाहीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।