काठमाडाैं- नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको मृत्यु भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा करिब एक महिना बिताएपछि जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको हो।
मष्तिष्कघात भएपछि जाेशी फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।
जोशीको निधनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मालगायत विभिन्न नेताहरूले शोक व्यक्त गरेका छन्। देउवाले जोशीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको उल्लेख गरेका छन्।
प्रवक्ता शर्माले देशले एक असल र कुशल नेता गुमाउनुपरेको उल्लेख गरेका छन्l
जाेशीको निधनमा कसले के भने?
शेरबहादुर देउवा-
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
विश्वप्रकाश शर्मा-
उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो !
तर लेख्नु परेको छ ``अल बिदा नविन्द्र दाइ !!!!!!!
तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ l
कमल थापा-
नवीन्द्रराज जोशीको निधनबाट देशले एक असल,मृदुभाषी र उदयिमान नेता गुमाएको छ। स्व. नवीन्द्रमा भावपूर्ण श्रद्धाञ्जली। बैकुण्ठवास होस्। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
कल्याण गुरुङ-
हार्दिक भावपूर्ण श्रद्धान्जली।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य आदरणीय दाई नवीन्द्रराज जोशीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै पीडा र दु:खको यस समयमा शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
योगेश भट्टराई-
हार्दिक श्रद्धान्जली प्रिय नबिन्द्रराज जोशीजी । तपाईंप्रतिको आदर र सम्मान सदैव रहने छ । तपाईंसँगका सहकार्यका दिनहरु सम्झना भईरहने छन । परिवारजनमा गहिरो समवेदना ।
शेखर कोइराला-
मेरा मित्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनले अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। जोशीले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै अनुकरणीय रहिरहनेछ। यस दुःखद समयमा परिवारमा समवेदना र स्व नविन्द्रराज जी प्रती श्रद्धान्जली।
प्रदीप ज्ञवाली-
दु:खद ख़बर।
केही दिन पहिले अस्पतालमा भेट्न जाँदा परिवारका सदस्यहरूबाट नवीन्द्रराज जोशीजीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गरेको सुन्दा आशा पलाएको थियो। तर, त्यो आशा क्षणिक मात्रै हुन पुग्यो। लोकतन्त्रका निष्ठावान र अविश्रान्त योद्धाका रूपमा सधै संझिरहने छौं।
हार्दिक श्रध्दान्जली !
रामबहादुर थापा ‘बादल’-
पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता नवीन्द्रराज जाेशीको असमायिक निधनले दुखी बनाएकाे छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शाेकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
देवेन्द्रराज पाण्डे-
नेपालमा धेरै थोरै मध्ये एक जना/नेता राजनीतिज्ञ, नवीन्द्रराज जोशी।गफ भन्दा काम गरूँ,काम गरेर देखाउँ, जनताको मन जितुँ, राजनीतिमा सफल हुन सकुं भन्ने सोच राख्ने मृदुभाषि ब्यक्ति। मुलुकलाई ठूलो हानी भयो, उनी रहेनन् अव यो जगतमा। हार्दिक श्रद्धान्जली।
विनोद चाैधरी-
देशले आज असल र इमानदार नेता गुमाएको छ। प्रिय नवीन्द्रराज जोशीज्यू, तपाईं व्यक्तिगत रूपमा जति सौम्य र शालीन हुनुहुन्थ्यो, नेताका रूपमा पनि उत्तिकै चिरस्मरणीय हुनुहुन्छ । तपाईं जहाँ गए पनि सुख र शान्ति मिलोस् । हार्दिक श्रद्धाञ्जली !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।