काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
टेलिकमको शुक्रबार बसेको १३औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो।
यस्तै, साधारण सभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।
साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको छ।
टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो। यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ६४ रूपैयाँ ९९ पैसा रहेको छ। गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।