काठमाडौं- शुक्रबार दिउँसोबाट काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित बनेको छ। धुवाँ र तुवाँलो जस्तो देखिने प्रदूषणले जनजीवनलाई पनि अत्यासलाग्दो बनाएको छ। दिउँसो करिब २ बजेबाट वायुमण्डलमा धुलोसँगै धुवाँ मिसिएको मौसमविद राजु प्रधानाङगले बताए।
‘धुलोसँगै धुवाँ मिसिएर आएको पाइएको छ। वरपर कतै डढेलो लागेर हावाले उडाएर ल्याएका कारण वायुमण्डल धमिलो भएको अनुमान गरेका छौं,’ उनले नेपाल लाइभसँग भने।
यसले उपत्यकाको भिजिबिलिटीसमेत ह्वात्तै घटाएको छ। अहिले काठमाडौंको भिजिबिलिटी एक किलोमिटर मात्रै रहेको उनले बताए।
अहिले हावामा पश्चिमी वहाव रहे पनि भू-वनोटका कारण परिवर्तन हुनसक्ने मौसमविद प्रधानाङगको भनाइ छ।
वायुमण्डल एक्कासी धमिलो बनेसँगै आँखा पोल्ने समस्या उपत्यकाबासीले भोग्नुपरेको छ।
यसैबीच भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।