काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘पशुजन्य उत्पादनहरूमा आत्मनिर्भता’ कार्यक्रम घोषणा गरे। उक्त अवसरमा दूध बजारीकरणका लागि सरकार अन्तर्गतकै दुग्ध विकास संस्थानले निर्माण गरेको ‘मिल्क ह्वाइटनर’को बजारीकरणको सुरुवात गरे।
बिहीबारबाटै संस्थानले बजारीकरण सुरु गरेको ‘मिल्क ह्वाइटर’प्रति भने प्रधानमन्त्री ओलीको असन्तुष्टि रह्यो। उनले उक्त कार्यक्रममा भनाइ राख्ने क्रममा असन्तुष्टि प्रदर्शन गर्दै टिप्पणी गरे, ‘ह्वाइटनर भनेपछि मलाई नै पत्यार लाग्दैन। जनतालाई कसरी विश्वास दिलाउने?’
संस्थानले धुलो दूध बजारमा पुर्याउन थालेकोमा खुशी भएका उनको ब्रान्ड नाममा भने तीव्र असन्तुष्टि रह्यो। धुलो दूध भन्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ‘डेरी ह्वाइटनर, मिल्क ह्वाइटनर भन्नुभएको छ। यो ह्वाइटनर भनेको सेतो बनाउने कुरा हो। साथीहरू अंग्रेजीका पछि किन कुद्नुभयो थाहा छैन। यो सेतो दूध बनाउने कुरा हो, सेतो बनाउने कुरा होइन। धुलो दूध भन्नुपर्छ मेरो विचारमा।’
उनले अंग्रेजीमा नाम राख्ने भए मिल्क पाउडर भन्ने सकिने बताए। तर, ह्वाइटनर भनेपछि आफूलाई नै पत्यार नलाग्ने उनको भनाइ थियो। थपे, ‘त्यो त सेतो बनाउने कुरा रहेछ। चियामा हालेपछि सेतो बनाउने रहेछ भन्ने पर्छ। त्यसकारण यसलाई ह्वाइटनर भन्दा धुलो दूध राखौं। सबैले बुझ्छन्।’
यस विषयमा स्पष्ट पार्दै यो सेतो बनाउने कुरा नभइ गााइभैंसीबाट दुहेको दूध मेसिनले सुख्खा बनाएपछि धुलो हुने उल्लेख गरे। उनको थप स्पष्टोक्ति थियो, ‘हामीले ह्वाइटनर भनेपछि जनतामा विश्वास कति जाग्छ? हामीले यो दूधै हो भन्ने विश्वास दिलाउन पर्यो। हामीले दूध सुकाएर धुलो बनाएको मात्रै हो। प्रविधि प्रयोग गरेर धुलोमा परिणत गरेको हो। यो बुझाउनुपर्यो।’
उनले प्रयोग गर्ने तरिकाका विषयमा पनि आमजनलाई बुझाउनुपर्ने बताए। ताजा दूध भन्दा कसरी बढी उपयोगी छ, त्यो पनि बुझाउनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘इनर्जी ड्रिक्स जस्तो कुरा होइन। यो केमिकल फ्लेवर होइन। यो दूधै हो। यसको प्रयोग र दूधको प्रयोगमा खासै फरक छैन।’
उनले ताजा दूध गर्मीमा ढाडिने तर यो नढाडिने, प्रयोग गर्न सहज हुने, लामो समय फाट्ला कि भन्ने पीर पनि नहुने कार्यक्रममा बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।