काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन्। बुधबार नेपाल नगरपालिका संघको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताए।
पुँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको उनले बताए। ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र? वस्तुतः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो। त्यहीँ जान्छ सबै’, ओलीले भने, ‘जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो। क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ। क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ।’
उनले पुँजीगत खर्च नहुनेगरी कतै थुपार्ने, कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोंच नरहेको बताए। ‘म साथीहरुलाई स्पष्ट भन्न चाहान्छु, त्यस्तो सोंच हुनै सक्दैन। थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र?’, उनले भने। प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि बताए।
स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए। उनले ‘स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने? स्थानीय तहले घरमा लगेर त्यो अधिकार गाई भैंसीलाई खुवाउने हो र? त्यहाँ देश विकासका लागि, जनताका लागि खर्च गर्छन् नि। त्यसकारण त्यो अधिकार दिन हिच्किचाउनुपर्ने कुनै कारण छैन।’
प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीले बताए। प्रदेश सरकार र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम राख्न नहुने समेत उनले बताए। ओलीले कतिपय कुराहरु पालिकाहरुमा एकरुपताका साथ गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले चैत्र १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न सुरु गर्ने जानकारी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।