काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय सार्ने भनिएको घरको अवलोकन गरेका छन्। ओलीले बुधबार दिउँसो थापालथी हाइटमा रहेको साढे दुई तले घरको अवलोकन गरेका हुन्।
उनीसँगै एमालेका नेता/कार्यकर्ता थापाथली पुगेका थिए। यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको एमालेको पार्टी कार्यालय थापाथली सार्न लागिएको हो।
थापाथलीस्थित उपमामार्गमा रहेको सञ्जय अग्रवालको उक्त घरमा पहिले युएन अफिस रहेको थियो। घरमा १३ कोठा रहेका छन्। घरलाई पाँच वर्षका लागि भाडामा लिइएको र आउँदो वैशाख १ गते सर्ने तयारी भइरहेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए। उनले भाडादर भने तय नभएको बताए।

'मेरो चिनजान, मेरो फ्यामिली रिलेसन भएको साथीको घर हो। भाडा हामीले केही फिक्स गरिसकेका छैनाैं। जति दिन्छाैं उसले लिइहाल्छ। उसलाई खासै भाडाको जरुरत छैन। पार्टी दिनसक्ने जति दिन्छाैं', दुगडले भने। धुम्बाराहीमा साँघुरो भएको र चक्रपथ विस्तारका कारण यता सर्नुपरेको दुगडले बताए।
प्रधानमन्त्रीसँगै घर अवलोकनका लागि पुगेकी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पनि एमालेको केन्द्रीय कार्यालय छिट्टै यता सर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।