काठमाडौं- राइड सेयरिङ कम्पनी पठाओले कम्पनीको लोगो अंकित ज्याकेट लगाएर राइड गर्न रोक लगाएको छ। मंगलबार पठाओले एक विज्ञप्ति जारी गर्दै आफ्ना राइडरलाई ज्याकेट नलगाउन भनेको हो।
मंगलबार सरकारी निकाय र पठाओबीच भएको छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो।
पठाओ सेवालाई थप व्यवस्थित गर्न र अफलाइन राइडको विकृति निरुत्साहित गर्न पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नभएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरूलाई अनुरोध गर्दछौँ,' पठाओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसका साथै पठाओले सेवा बन्द नभएको समेत प्रष्ट पारेको छ।
कम्पनीको निर्देशनविपरीत कुनै राइडरले त्यस्तो लोगो वा चिन्ह प्रयोग गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।
कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडरलाई राइडको समयमा अनिवार्य प्रेटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो।
नेपालमा सन् २०१८ देखि सेवा सुरु गरेको पठाओ सन् २०१९ देखि ट्याक्सी सेवासमेत प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।