काठमाडाैं- यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न बाँकी रहेको जनाएकाे छ।
देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै संख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो संख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डंगोलले बताए।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन्।
सो अवधिमा नवीकरणका लागि केही समय थपिएको उनले बताए। कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उनले बताए। उनले भने, ‘नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ।’
विगत वर्षहरुमा धेरै संख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो। लकडाउनको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डंगोलले बताए। विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ।
विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उनले बताए। सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए। गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो। एकै पटक धेरैले अहिले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो।
उनले भने, ‘लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ।’
नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ। अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ। विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन। सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ। त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।