फाइल तस्बिर।
काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गरेको फैसलाको पुनरवलोकनमा जाने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले फैसलाको पुनरवलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
सर्वोच्चले नेकपा नाम विवादमा फैसला गर्दै फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो। ऋषिराम कट्टेलको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादीले एकता गरि राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनभित्र आह्वान गर्न निर्वाचनलाई आयोगलाई भनेको थियो।
सर्वोच्चको फैसला अनुसार आयोगले एकता गर्ने भए आउन समेत भनेको छ। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल-पुष्पकमल दाहाल 'प्रचण्ड' पक्ष भएको अवस्थामा सर्वोच्चको यस्तो फैसला आएको थियो।
सर्वोच्चको उक्त फैसलापछि नेकपा खारेज हुँदै अहिले २०७५ जेठ २ गतेको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रको रुपमा दुई पार्टी सक्रिय भएका छन्।
मंगलबार कानुन व्यवासायीहरूले फैसलाको पुनरवलोकनमा जान माओवादी केन्द्रलाई सुझाव दिएका थिए। छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायाण विडारी, अधिवक्ताहरु मुक्ति प्रधान, दिनमणि पोखरेललगायत सहभागी थिए।
बैठकपछि राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता विडारीले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला मागदाबी विपरीत र राजनीतिक प्रकारको भएकोले कानुन व्यवसायीले पुनरवलोकनमा जान सुझाएको बताए।
माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएमा र अविश्वासको प्रस्ताव ल्याएमा कस्तो अवस्था आउँछ भन्नेबारे पनि कानुन व्यवसायीले विभिन्न सुझाव दिएका थिए।
यसअघि सर्वोच्चले सशस्त्रका डिआइजी रञ्जन कोइराला, प्रेरणा राणाको जग्गा विवाद र लोकमानसिंह कार्कीको योग्यता मुद्दामा पुनरवलोकन भएको नजीर भएकाले अदालत जान सुझाएका थिए।
मागदाबी भन्दा बढी र अन्त कतैबाट निर्देशित फैसला गरेकाले यो पुनरवलोकन हुनुपर्छ भनेर सबैको सुझाव आएको उनले बताए। वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदनमा पुष्पकमल दाहाललाई पनि विपक्षी बनाइएकाले पुनरवलोकनमा जानुपर्ने सुझाव दिएका थिए। सर्वोच्चले गरेको फैसला त्रुटीपूर्ण भएको लागेमा सच्चाउनुपर्ने उनको सुझाव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।