काठमाडौं- नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्रीमाथि उठाइएको नैतिकताको प्रश्नप्रति खण्डन गरेका छन्। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले 'नैतिकता त गजबको छ' भन्दै व्यंग्य गरेका हुन्।
'नैतिकता त गजबको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने। प्रधानमन्त्रीलाई नैतिकता सिकाउने। अविश्वासको प्रस्ताव ल्याउँछौं भनेर, फेल हुन्छ भनेर डराउने', अधिकारीले भने।
उनले चुनावमा जान खुट्टा कमाउने तर, लोकतन्त्रको दुन्दुभी बजाउने भन्दै चुनावको विरोध गर्नेहरुलाई प्रहार गरे। 'नैतिकता कता गयो? कसले खोज्ने?', उनको प्रश्न थियो।
खगराज अधिकारीले के भने?
नैतिकता त गजबको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने। प्रधानमन्त्रीलाई नैतिकता सिकाउने। अविश्वासको प्रस्ताव ल्याउँछौं भनेर, फेल हुन्छ भनेर डराउने। अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने। ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने।
नेकपा एमालेदेखि सातो जाने। चुनावमा जान खुट्टा कमाउने। लोकतन्त्रको दुन्दुभी बजाउने। नैतिकता कता गयो। कसले खोज्ने। सभामुख महोदय, तपाईं निर्वाचित हुँदा नेकपा थियो। अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने। अनि, नैतिकता कसले कसलाई सिकाउने? आफैं भत्ता बढाउन माग गर्ने। अनि, प्रधानमन्त्री समर्थक सांसदले माग गरे भनेर प्रचार गराउने। नैतिकता के हो, कसले कसलाई पढाउने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।