काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षले नेता माधव कुमार नेपाललाई स्पष्टीकरण पत्र पठाएको छ। ओली पक्षले नेता नेपालको घरमा नै स्पष्टीकरण पत्र पठाएको हो। शनिबार ओली पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपालसहितका ४ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णयअनुसार नेपाललाई स्पष्टीकरण पत्र पठाइएको हो।
‘पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरूको भेला गरी अनाधिकृत रुपले विभिन्न कार्य गरी/गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नभएको हो,’ ओली पक्षले नेता नेपाललाई पठाएको स्पष्टीकरण पत्रमा उल्लेख छ।
यस्तै पार्टीको विधान विपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्धका विभिन्न क्रियाकलापमा नेतृत्व र अगुवाई गर्नुको कारणसमेत पेस गर्न भनिएको छ।
तत्कालीन नेकपा सचिवालयमा छापामार शैलीमा प्रस्तुत गर्न र पार्टीको नाम, झन्डा र लोगोसमेत प्रयोग गरी पुस्तक प्रकाशित गरी वितरण गर्नमा पुष्पकमल दाहालको मतियारसमेत भएको आरोप लगाउँदै त्यसको कारणसमेत प्रष्ट पार्न भनिएको छ।
सडकमा बसी कानुन विपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट निश्कासन गर्ने कारणसमेत पेस गर्न भनिएको छ।
यस्तै निर्वाचन आयोगमा गई विभिन्न निवेदन पेस गर्नुको कारणलगायतका विषय प्रष्ट पार्न स्पष्टीकरण पठाइएको छ। नेपाललाई ओली पक्षले १० बुँदे स्पष्टीकरण पत्र पठाएको हो।
पार्टीमा स्पष्टीकरण पेस गर्नका लागि नेपाललाई तीन दिनको समय दिइएको छ। तीन दिनमा स्पष्टीकरण पेस नगरे पार्टीको विधान र नियमावलीअनुसार कारबाही गरिनेसमेत स्पष्टीकरण पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।