काठमाडौं- क्रियाशील सदस्यता वितरण र नवीकरणको काम ९ जिल्लामा नभएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसहित शीर्ष नेताहरूको बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरणको हालसम्मको प्रगति जानकारी गराइएको हो।
चैत १० (मंगलबार) क्रियाशील सदस्यहरूको नाम केन्द्रमा पठाउनुपर्ने गरी समयावधि तोकिएको थियो। क्रियाशील सदस्यता वितरण र नवीकरण नगर्नेमा बढी जिल्ला प्रदेश २ का छन्। सप्तरी, सिराहा, धनुषा र बारामा सदस्यता वितरण सुरु नै हुन सकेको छैन।
यस्तै, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व, डोल्पामा पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु नभएको छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए।
क्रियाशील सदस्यता नवीकरण र वितरणको काम व्यवस्थित गर्न पार्टीले सफ्टवेयर नै विकास गरेको छ। देशभरका कुल २०७ स्थानबाट नामावली आउनुपर्ने लेखकले जानकारी दिए। १३८ स्थानबाट नाम इन्ट्री भइरेहको र ६९ स्थानबाट नामावली इन्ट्रीको काम सुरु नभएको जानकारी गराइएको छ।
हालसम्म ३ लाख ९२ हजार ७९४ क्रियाशील सदस्यता सूचीकृत भइसकेका छन्। त्यसमध्ये नवीकरणतर्फ २ लाख १२ हजार ५१९ र नयाँ सदस्यता वितरण १ लाख ८० हजार २७५ जना छन्।
कांग्रेसको १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। शतप्रतिशतसम्म क्रियाशील सदस्यता बढाउन सकिने नीति कांग्रेसले लिएको छ। त्यसअनुसार १४औं महाधिवेशनमा १० लाख क्रियाशील सदस्यता हुने आकलन पार्टीको छ।
‘धेरै स्थानमा इन्ट्री सुरु भइसकेको छ। तर इन्ट्रीको काम सुस्त छ। अब द्रुत गतिमा काम गरी क्रियाशील सदस्यता टुंगाउनुपर्ने छ,’ समितिका संयोजक लेखकले भने।
क्रियाशील सदस्यता छानबिन समितिले हालसम्मको प्रगति शीर्ष नेताहरूलाई जानकारी गराएको लेखकले बताए। क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएका समस्यासमेत जानकारी गराइएको उनले बताए। क्रियाशील सदस्यता नवीकरण गर्न नसके त्यो जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व हुन नसक्ने परिस्थिति आउन पनि सक्ने लेखकले बताए।
सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक क्रियाशील सदस्यता वितरण र नवीकरणका सन्दर्भमा केन्द्रित थियो। सरकार निर्माणका सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा लेखकले परिपक्व समय आइनसकेको बताए।
क्रियाशील सदस्यता छानबिन समितिमा ७ जना सदस्य छन्। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई प्रभावकारी गर्न पार्टीले समितिका सदस्यलाई सातै प्रदेशमा खटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।