काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले शिष्टचार भेटवार्ता गरेका हुन्।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको स्मरण गरे। उनले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नजिकबाट सहकार्य हुँदै आएको पनि बताए।
भेटमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुत र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे।
राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन–प्रदान हुने विश्वास व्यक्त गरे। भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुत बनाउन आफूले काम गर्ने विश्वास दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।