काठमाडौं- सांसदहरूले संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फर्नुपर्ने बताएका छन्। संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समितिले गर्ने अनुगमनहरूको प्रभावकारिता नदेखिएकाले नयाँ ढंगले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन्।
समितिको चालु र आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्दै सांसदहरूले परम्परागत रुपले गरिने अनुगमनले सम्बन्धित निकायको कार्यसम्पादनमा खासै फरक नपरेकाले औपचारिक रुपले भन्दापनि अनौपचारिक रुपले अनुगमन गरी वास्तविक तथ्य पत्ता लगाउनुपर्ने सुझाव दिए।
नेकपा(एमाले) का सांसद नवराज सिलवालले सुशासन कायम गर्ने सम्बन्धमा विभिन्न सरकारी निकायमा औपचारिक रुपमा गरिने अनुगमनले उपलब्धी हासिल नगरेको भन्दै मिडिया र विश्वविद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गर्नुपर्ने बताए।
त्यसैगरी, नागरिकसँग बसेर नागरिकले पाएको सास्तीको बारेमा बुझेमा सम्बन्धित निकायको सेवा प्रवाहबारे नजिकबाट बुझिने भएकाले उनीहरूसँग छलफल गर्नुपर्ने सिलवालले बताए।
नेपाली कांग्रसकी सांसद डिला संग्रौलाले अनुगमनलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्। खुल्ला कारागारको अवस्थाका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अन्य सीमा जोडिएका जिल्लाहरूमा पनि अवलोकन गर्नुपर्ने उनको भनाइ छ।
सांसद बृजेश कुमार गुप्ताले स्थानीय प्रशासनलाई थाहा नदिइकन अनुगमन गर्नुपर्ने बताए। सांसदहरू ठूलो समूहमा नगइकन एक÷दुई जनाको समूह बनाई छड्के अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले गोरखाको बारपाकमा भूकम्पपछि भएको पुनर्निर्माण र जनजीवनको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने बताए। सरकारले के–कस्तो सेवा, सुविधा दिइरहेको छ र स्थानीयको अवस्था कस्तो छ, वास्तविक तथ्य बुझ्नका लागि यो अनुगमन आवश्यक रहेको उनको भनाइ छ।
प्रतिनिधि सभाको पुनःस्थापनापछि संघीय संसदका विभिन्न समितिहरूले नियमित बैठक गरिरहेका छन् भने समितिले आगामी दिनमा गर्ने कामहरूको बारेमा छलफल, परामर्श गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।