काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका एक सदस्यले बताए।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुन सक्ने ती नेताले बताए।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साविक नेकपामा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए।
अदालतले पूराना पार्टी ब्युँताएपछि माओवादीले समर्थन फिर्ता लिने आमअपेक्षा थियो। तर, माओवादीले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। केहीदिन पहिले बसेको माओवादीको संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।