फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने केपी शर्मा ओली पक्षको निर्णय अवैध र हास्यास्पद भएको बताएका छन्। शनिबार ट्विट गर्दै नेता रावलले ओली पक्षको निर्णय अस्वीकार गर्दै प्रधानमन्त्री केपी ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन्।
'केपी शर्मा ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ,' नेता रावलले ट्विटमा लेखेका छन्, 'त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु।'
नेता रावलले उक्त ट्विटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नै जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन्। 'एमालेको विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,' रावलको ट्विटमा लेखिएको छ।
शनिबार मात्रै ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेताहरू नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।
पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।