काठमाडौं- नेकपा एमालेले आगामी महाधिवेशन आयोजक कमिटीका अध्यक्ष प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई पदाधिकारी र स्थायी कमिटी सदस्य प्रस्ताव गर्ने अधिकार दिएको छ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले आयोजक कमिटीको स्थायी कमिटी र पदाधिकारीका विषयमा प्रस्ताव ल्याउन अध्यक्ष र महासचिवलाई जिम्मा दिएको हो।
यसअघिका बाँकी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुलाई खारेज गर्दै नयाँ प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रबाट थपिएका २३ जनासमेत गरी २६४ जनालाई महाधिवेशन कमिटीमा रुपान्तरण गरेको हो।
आयोजक कमिटीका २६४ सदस्यलाई कार्य विभाजन गर्न र प्रस्ताव तयार संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी सदस्य भएको समिति बनाइएको छ।
प्रदेश मातहतमा जिल्ला संगठन कमिटीहरुलाई ल्याएर महाधिवेशन गर्दै व्यवस्थित गर्ने निर्णय गरिएको छ। उक्त जिम्मेवारी ७ वटै प्रदेशलाई सुम्पिएको छ।
एमालेको महाधिवेशन आगामी मंसिर ४ र ५ गतेका लागि यसअघि नै तोकिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।