फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयासमा आफूहरू लागेको बताएका छन्।
एमालेको नेपाल-खनाल पक्षीय युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरूले त्यसलाई फाल्ने प्रयास गरिरहेको बताएका हुन्। पूर्ववत रूपमा रहेका पार्टीका सबै संरचनाको बैठक, भेलालगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भइरहेको उनले प्रस्ट पारे।
‘हामी दाँत माझ्दैछौँ। मुख गन्हाएको थियो, टुथपेस्टले क्लियर पारेर सफा र स्वच्छ प्राणवायु भर्छौं,’ वरिष्ठ नेता नेपालले भने, ‘माक्र्सवाद एउटा विचार हो। जसरी शरीरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ।’ विचारले ऊर्जा दिएर अघि बढ्न प्रेरित गर्ने उनको भनाइ छ।
उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको ‘जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लैजाऊ’ भनेजस्तै भएको टिप्पणी गरे।
‘सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको भएता पनि त्यो चाहिँ हामी मान्दैनौ तिमीहरू पुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ। यो जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लैजाऊ भनेजस्तै फैसला हो,’ वरिष्ठ नेता नेपालले भने।
फैसला गलत भए पनि सर्वोच्चको फैसलालाई मानेर आफूहरू अगाडि बढ्ने उनले बताए। ‘नाम मिलेन, नाम जुध्यो भन्न सकिन्थ्यो। नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो। नाम फेर्न पो भन्ने हो, एकताको कुरै मान्दैनौ भन्ने? त्यो फैसलाबारे बहस गर्दै गरौँला, तर हामी अहिले निर्णय मान्न बाध्य छौँ,’ उनले भने।
पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको नेता नेपालले बताए। सर्वोच्चको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याऊँ भन्ने आफूहरूको प्रस्ताव ओलीले नमानेको उनले दाबी गरे।
‘पूर्वएमाले ब्युँतिनुको अर्थ भनेको पूर्वएमालेमा केपी ओली पनि आउनुपर्यो। हामी पनि त्यही ठाउँमा पुग्नुपर्यो। केपी ओलीमा जाने होइन। यो कुरा प्रस्ट हुनुपर्यो,’ वरिष्ठ नेता नेपालले भने।
पार्टीको अवस्था देखेर निराश नबन्न उनले युवाहरूलाई निर्देशन दिए। नयाँ उत्साह र जोसका साथ वैचारिक अभियानमा पार्टी लागेको बताउँदै नेता नेपालले यो अभियानले कम्युनिस्ट विरोधीलाई परास्त गर्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।