फाइल तस्बिर
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले विस्तारै लय समात्ने बताएका छन्। शनिबार जिपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन्।
सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मिहेनत गर्नुपर्ने आवश्यकता रहेको बताए। संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरूको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलताका उपायहरू खोज्ने प्रयासमा रहेको बताए।
‘अलिकति समस्याहरू छन्। त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईंहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ। त्यसले गति लिन्छ,’ सभामुख सापकोटाले भने। संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूहरूले प्रण गरेको उनले बताए।
‘संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो। कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि प्रयत्न गर्दैछौँ। र, त्यसपछि बनेका कानुनहरू कार्यान्वयन गराउने हाम्रो कर्तव्य हुनेछ,’ उनले भने।
नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरूबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमतिका साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानपर्नेु आवश्यकता औंल्याए। उनले भने, ‘मुलुक तरलताको अवस्थामा छ। अझै पनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन। मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लैजान दलहरूबीच सहमति आवश्यक छ।’
सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुँदा विकास र शान्ति नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।