काठमाडाैं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएका छन्। पार्टीभित्र विवाद बढ्दै गएको बेला ओलीले शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन्।
संसदीय दलको बैठक सकेलगत्तै केन्द्रीय कमिटीको बैठक पनि सोही स्थान बस्ने जनाइएकाे छ। यता ओलीले बाेलाएकाे संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूकाे बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताएका छन्।
विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएको थियाे। तर, मिर्गाैला प्रत्याराेपण गरेसँगै अध्यक्ष ओलीले अधिकांश बैठक प्रधानमन्त्रीको निवासमा बाेलाउँदै आएका छन्।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त अजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने तर, बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय भएको रिजालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।