काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुल गार्हस्थ उत्पादन (जिडिपी) र प्रतिव्यक्ति आयलाई देश विकासको आधार मान्न नसकिने बताएका छन्।
शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले जिडिपी र प्रतिव्यक्ति आयलाई आफूले देश विकासको आधार नमान्ने बताएका हुन्।
‘जिडिपी र परक्यापिटलको आधारमा मापन गर्ने भन्दा समग्र जनतालाई माथि उठाउने मान्यताका साथ काम गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई पछि पार्नु र पारिनु हुन्न। सबैलाई समान रुपमा लैजानु पर्छ। यो नै विकासको मापन हो।’
उनले सवारी आयातमा लगाउँदै आएको कर तथा राजस्वका दर नघट्ने पनि बताएका छन्। कार्यक्रममा व्यवसायीले सवारी आयातमा लगाउँदै आएको करको दर बढी भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले आयात गर्नेहरुले मिलेर यही उत्पादन गर्ने उद्योग खोलेमा सरकारले खुलेर सहयोग गर्ने बताए। तर, आयातमा लगाउँदै आएको करको दर परिमार्जन नहुने दोहोर्याए।
‘यहाँ सवारी उत्पादन उद्योग खोलेपछि बढी सहुलियत दिन्छौं। त्यसले आयात रिप्लेस गर्छ। हाम्रो डलर बचत हुन्छ। देशको बचत सकारात्मक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यति गर्दा त सडकमा खाँदाखाँद गाडी गुडिरहेका छन्। कर कम गर्ने हो अवथा के होला? त्यसमा पनि डाउन पेमेन्ट कम गर्ने हो भने त सडकका गाडी कुद्न सक्ने अवस्था हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।