फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन्।
वरिष्ठ नेता नेपालले आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको प्रस्ट पारे।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारबाही गर्ने चेतावनी दिएका अध्यक्ष ओलीले कसैको पनि पद र जिम्मेवारी खोस्न नसक्ने भन्दै उनले कार्यकर्तालाई आश्वास्त पारे। उनले कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए।
‘पूर्वएमालेको ठाउँमा फर्किऔं। हामी पार्टी फुटाउने होइन, पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो,’ नेता नेपालले भने, ‘२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकताबद्ध भए। एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए। जो-जो पदाधिकारी, सदस्य थिए। ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ।’
नेता नेपालले तत्कालीन नेकपाबाट निर्वाचित सांसदहरूको सवालमा के कस्तो हुनसक्छ भनेर आफूहरूले परामर्श गरिरहेकाले नआत्तिकन कम्युनिस्ट एकताको आन्दोलनमा लाग्न आग्रह गरे।
केही समयअघि अध्यक्ष ओली समूहअन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।