काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन निष्पक्ष हुनै नसक्ने थापाले बताए। नेकपाले जनताबाट पाएको म्याण्डेट गुमाएकाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने उनको भनाइ छ।
केन्द्रीय समिति र संसदीय दलको बैठकबाट ओली हटाएर कांग्रेसले नेतृत्व गर्ने निर्णय गराउनुपर्ने सुझाव नेता थापाले कांग्रेस नेतृत्वलाई दिए।
थापाले अदालतको फैसलाले उपनिर्वाचनमा नेकपाबाट विजयीहरुको दलीय पहिचान नखुलेको बताएका छन्। उपचुनावमा नेकपाबाट निर्वाचित भएकालाई जनप्रतिनिधि मान्न नसकिने उनले बताए।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलामा सम्बोधन गर्न पोखरा पुगेका थापाले भने,‘कास्की-२ को सांसद कुन पार्टीको हो?’ पूर्वमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमार्फत कास्की-२ मा नेकपाबाट विद्या भट्टराई निर्वाचित भएकी थिइन्।
प्रधानमन्त्री ओलीको प्रवृत्तिप्रति स्वेच्छाचारी भएको उनले आरोप लगाए। ओली प्रवृत्ति सरकार नभएर सत्ता भएको उनको टिप्पणी छ। राज्यका सबैको संवैधानिक निकायको प्रमुखका रुपमा प्रधानमन्त्रीले आफूलाई नै उभ्याउने गरेको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।