काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समीकरणबारे उचित अंक गणित बनेपछि सार्वजनिक रुपमै जानकारी दिने बताएका छन्।
‘तुरुन्तै प्रधानमन्त्री लिनुपर्छ भनेर कांग्रेस हतारोमा छैन। तर, आइहाले पनि जिम्मेवारीबाट भाग्दैनौं भनेर सभापतिले भन्नु भएको छ’, उनले भने ‘हामी आन्तरिक संवादमा छौं। उचित रुपमा अंक गणित बनेपछि सार्वजनिक रुपमा भन्छौं।’
कांग्रेसले कोरोनाको समयमै सरकार असफल भएको भनेको र प्रतिनिधि सभा विघटनपछि झन् पुष्टि गरेको उनले बताए। तर, ओलीको विकल्प खोज्दा गणितीय रुपमा खोज्नुपर्ने भन्दै उनले यसमा दुईवटा मात्र विकल्प रहेको बताए।
'पहिलो, राजीनामा दिने हाे तर त्यो पूरा हुने देखिँदैन। दोस्रो, भनेको नेपाली कांग्रेसको नेतृत्वमा बन्ने कुरा सही हो तर, शेरबहादुर देउवाले किन अग्रसरता लिनु भएन भन्ने कुरामा निर्वाचनमा प्राप्त जनमतले मिल्दैन', शर्माले भने।
जनताले सरकार भन्दा बाहिर बस्ने म्यान्डेड दिएको र आइहाले जिम्मेवारीबाट नभाग्ने स्वयं सभापतिले भन्दै आएको उनले दोहोर्याए। ‘सत्ता चलाउने म्यान्डेट पाएको नेकपा अहिले खण्डित भएको छ’, शर्माले भने ‘अहिले सत्तामा जान हुँदैन भन्ने अवस्था रहेन। तर, सरकारमा जाने अवस्था भएको छैन।’
प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा छिटो निर्णय गर्नुपर्ने कुरा आएको भन्दै उनले अहिले फरक गणित देखिएकाले केही दिन 'पर्ख र हेर'को अवस्थामा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।