काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्भाग्यतिर लगेको आरोप लगाएका छन्।
माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहमा सम्बोधन गर्दै भुसालले पार्टीको अहिलेको अवस्था भयानक दुर्भाग्य भएको बताए।
'गौरवशाली इतिहास र लाखौं कार्यकर्ता भएको पार्टीका अध्यक्ष र पार्टीले प्रधानमन्त्री बनाएको व्यक्तिले एकपछि अर्को सुनियोजित गल्ती गर्दै पार्टीको भविष्यलाई दुर्भाग्यतिर लैजाँदैछन्', भुसालले भने, 'यस्ता मान्छले कम्युनिस्ट आन्दोलन उठ्न नसक्ने बनाउन सक्छन्।'
उनले भेलामा चार हजार जम्मा भएर आन्दोलन झुक्न दिइन्न भनिरहेकोले त्यो चाहिँ ठूलो सौभाग्य भएको बताए। भुसालले ओलीकै कारण पार्टीलाई समर्थन गरेका सारा कार्यकर्ता लज्जित बनेको टिप्पणी गरे।
'ओली कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ। बचेको पार्टी धुलिसात पार्न लाग्नु भएको छ। ओलीसँग किमार्थ झुकिन्नँ', भुसालले भने।
बुधबारदेखि जारी कार्यकर्ता भेला आज सकिँदैछ। भेलामा माधवकुमार नेपालले अवधारणा पत्र पेश गरेका थिए। उक्त अवधारणा पत्र परिमार्जनसहित देशभरका कार्यकर्तासम्म पुर्याइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।