फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने र फागुन २८ को निर्णय फिर्ता हुनुपर्ने बटमलाइन तय गरेको छ। बुधबारदेखि सुरु उनी पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुबीच छलफलपछि जवाफी सम्बोधन गर्दै नेपालले बटमलाइन प्रस्तुत गरेका हुन्।
उनले फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी थप गरिएका केन्द्रीय सदस्य र फेरिएका इन्चार्ज मान्न तयार नभएको उनले स्पष्ट पारे।
'ओलीले कारबाही गर्न माथिबाट सुरु गर्न सक्छन्। उनको कारबाहीको लागि टाउको अचानो बन्न तयार छ। कम्युनिष्ट आन्दोलनबाट त हटाउन सक्दैनन् नि। मैदान छोडेर भगिन्न। ओलीलाई धुलो चटाएर छोड्छौं', नेपालले भने।
उनले आवश्यकता पर्यो भने आफूहरु पद त्याग्न तयार रहेको बताए। उनले आफूहरु त्याग गर्न लागि तयार रहेको बताए।
नेपालले जबजको जगमा केपी ओलीको प्रतिवाद गर्नुपर्ने बताएका छन्। नेपालले ओली प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उल्लेख गरे।
'नवौं महाधिवेशनमै भनेको हो- ओलीबाट पार्टी चल्दैन', नेपालले भने, 'ओली कम्युनिस्ट र लोकतन्त्रवादी होइनन् भनेर वामदेव गौतमले त्यही बेला भन्नुभएको थियो।'
नेता नेपालले आफूहरु कुर्सीको पछि नलाग्ने स्पष्ट पारे। उनले आफूहरु ओलीसँग नतर्सिने पनि बताए।
उनले बालुवाटारमा बैठक बस्ने शैलीको विरोध गरे। नेकपाकालमा पनि आफू बालुवाटारमा बस्ने बैठकमा मन फुकाएर नगएको बताए। 'बालुवाटार पार्टी कार्यालय बनाउनु भयो। प्रचण्ड लुरुलुरु जानु हुन्थ्यो। म नजाऊँ भन्थे। नगए फेरि आरोप आउँथ्यो। तर, मन फुकाएर म कहिले पनि बालुवाटार गइनँ।'
नेपालले सहभागी कार्यकर्तालाई ओलीको शब्द जालमा नफस्न आग्रह गरे। 'स्थानीय तहका जनप्रतिनिधिलाई उनले हटाउन सक्दैनन्। दल त्याग गरेर अर्को दलमा मात्रै हटने हो', उनले भने, 'हटाए पनि हामीमाथि हुनेलाई हो। जस्तो कारबाही गरे पनि भोग्न तयार छौं। हामीले पनि कानुनी उपचार बुझेका छौं। हामीलाई पनि हटाउन सजिलो छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।