काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सच्चिने लक्षण नभएको बताएका छन्। आफू पक्षको कार्यकर्ता भेलामा जवाफी सम्बोधन गर्दै उनले ओली नसुध्रिने बताएका हुन्।
ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू पक्षका नेताहरु पनि सहभागी भएको सन्दर्भ उल्लेख गर्दै उनले समयमा सूचना प्रवाह नहुँदा त्यस्तो हुन गएको बताए। 'केही साथी संसदीय दलको बैठकमा पुग्नु भएछ। त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ। ओली सच्चिने लक्षण छैन', नेपालले भने, 'संसदीय दलको बैठकमा जाने/ नजाने कुरा भए। अन्तिममा नजाने निर्णय भयो। केहीलाई मेसेज पुगेर पनि हेर्न नपाउँदै बालुवाटार पुग्नु भएको रहेछ।'
नेपालले अहिले पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेको बताएका छन्। उनले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताएका हुन्।
'नेताहरु मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ', बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भने।
नेपालले ओली पक्षले कूप्रचार रोकिने सम्भावना नरहेको बरु बढ्ने बताए। 'गलत समाचार सम्प्रेषण गरी उनीहरू भ्रम सिर्जना गरिरहेका छन्', नेपालले भने।
बुधबारदेखि सुरु भेला आज सकिँदैछ। भेलामा माधव नेपालले अवधारणा पत्र पेश गरेका छन्। हिजै गठन गरिएको १० समूहले आफ्नो समूहमा छलफल गरी टोली नेताले निष्कर्ष प्रस्तुत गरिसकेका छन्। भेलाबाट पारित अवधारणा पत्र देशभरका कार्यकर्तासम्म पुर्याइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।