काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलामा प्रस्तुत अवधारणा पत्र देशभरका कार्यकर्तामाझ पुर्याइने भएको छ। बुधबार सुरु भेलामा नेता नेपालले अवधारणा पत्र प्रस्तुत गरेका थिए।
अवधारणा पत्र तथा केही साझा प्रश्नमाथि १० वटा टिम बनाएर छलफल गरिएको थियो। त्यहाँबाट आएका सुझाव समेत समेटेर अवधारणा पत्रलाई परिमार्जन गरी कार्यकर्तामाझ पुर्याइने भएको हो।
भेलामा अवधारणा पत्र पेश गर्दै नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। 'नेकपा (एमाले)को नवौँ महाधिवेशनमा केपी ओलीको पक्षमा नरहेकाहरुलाई काम नदिने, एक्ल्याउने र अपमानित गर्ने काम हुँदै गए। उहाँका क्रियाकलाप आफू नै सरकार र आफू नै पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहे', अवधारणा पत्रमा उल्लेख छ।
ओली नेतृत्वको अघिल्लो सरकार वस्तुतः वामपन्थी चरित्रको भएको र कुशलतापूर्वक चलाउन सकेको भए वामपन्थी नेतृत्वकै सरकारले स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन गराउँदै अगाडि बढ्ने सम्भावना भएको उल्लेख छ। 'तर, केपी ओलीले सहमतिको पालना र नेतृत्व गर्न नसक्दा, आफ्नै नेतृत्वमा बाहेक अरुले नेतृत्व गरेको सरकारमा नेकपा (एमाले)लाई जान नदिने अडान लिनु भएपछि नेकपा (एमाले) सरकारबाट बाहिरिनु पर्यो', अवधारणा पत्रमा उल्लेख छ।
नाकाबन्दीको सामना गरेको मुलुकको प्रधानमन्त्रीका रुपमा केपी ओलीको लोकप्रियता बढेपछि उनमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।