काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रस्तुत १९ पृष्ठको प्रस्तावको चर्चा भएको छ। भेलामा सो प्रस्ताव फिर्ताको घोषणा गर्नुपर्ने माग उठेको हो।
नेकपा विवाद उत्कर्षमा पुगेको बेला पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै कात्तिक २८ गतेको सचिवालय बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई नेपाल र खनाललगायतका नेताको समर्थन थियो। ओलीले भने सो प्रस्तावलाई अस्वीकार मात्रै गरेनन्, खारेजयोग्य भएको बताएका थिए। उनले प्रतिनिधि सभा विघटन गर्नुअघिसम्म सो प्रस्ताव फिर्ता हुनुपर्ने बताउने गरेका थिए।
नेपाल र खनाल पक्षको भेलामा टिम बनाएर छलफल गरिएको थियो। सोही क्रममा पार्टी एकतालाई बचाउन प्रचण्डले पेस गरेको सो प्रतिवेदन फिर्ता गरेको घोषणासम्म जानुपर्ने सुझाव व्यक्त भएको छ।
प्रदेश १ र बागमती प्रदेशबाट उक्त विषय उठाइएको एक नेताले जानकारी दिए। नेकपाको समयमा त्यो आएकाले त्यसलाई मृत सम्झन ओली प्रष्ट हुनु पर्ने भेलामा सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।