काठमाडौं- नागरिक लगानी कोषले सञ्चालन गरेका योजनाबाट यो वर्षको फागुन मसान्तसम्म १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरेको छ। कोषको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले संकलित रकममध्ये १ खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गरिएको बताएका छन्।
भट्टराईले उच्च आर्थिक विकासमार्फत् समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए। कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने उनले आवश्यकत औंल्याए।
कोष स्थापनादेखि नै निरन्तर नाफामा संचालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक-फरक किसिमका बचत योजना सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार रहेको उनको भनाइ थियो।
कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने बताए। पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताए।
उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधारस्तम्भ भएको धारणा राखे।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर विराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरिरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारका लागि काम सुरु भएको जानकारी गराए।
कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।