काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। तुल्सिलाल अमात्य प्रतिष्ठान, ललितपुरमा बस्ने तय भएको बैठक स्थगित भएको जसपा नेता केशव झाले बताए।
जसपाका पदाधिकारीहरुको अनाैपचारिक बैठकले राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित गरेको हो। जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्।
अघिल्लो वर्ष वैशाखमा एकीकरण गरी जसपा बने पनि हालसम्म एकीकृत दलको नेता र उपनेता छनोटसमेत गर्न सकेको छैन। जसपाभित्र सरकारमा जाने विषयमा दुई धार छ। पदाधिकारी बैठकले निर्णय गर्न नसकेपछि कार्यकारिणी समितिको बैठक बोलाएको थियो।
महन्थ ठाकुरलगायत नेताहरु केपी शर्मा ओली नेतृत्वको सरकारमा जानुपर्छ भन्ने विषयमा सकारात्मक छन्। तर, बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओली सरकारको विकल्प खोजेर कांग्रेस-माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्छ भन्नेमा छन्।
सत्ता समीकरणका लागि जसपा प्रतिनिधि सभाको निर्णायक दल हो। केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा एमालेको सरकारलाई समर्थन गरेपनि सरकारले निरन्तरता पाउने अवस्था छ र कांग्रेससँगै माओवादी केन्द्रलाई समर्थन गर्दा पनि नयाँ सरकार गठन हुने अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।