काठमाडाैं- इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल सहकार्यका लागि सम्झौता भएको छ। बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने छन्।
नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए।
सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए। यता संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुगेकाे बताए।
डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे।
इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ।
हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।