काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आगामी तीन महिनाको कार्ययोजना बनाउने भएको छ। ललितपुरको एक होटलमा जारी राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा एमालेलाई एकतावद्ध गर्दै स्वेच्छारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको नेताहरूले जनाएका छन्।
मंगलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने एमाले नेता गंगालाल तुलाधरले बताए। उनका अनुसार १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ। बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने तुलाधरले बताए।
वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने उनले बताए। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरुले कार्यकर्ता भेला गरेको उनको दाबी छ।
‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौं। पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौंलाई पार्टी जिम्मेवारीबाट हटाउने कार्य हो’, तुलाधरले भने, ‘हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ। यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ। त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौं।’
अध्यक्ष ओलीबाट एमाले एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति श्रृजना हुनु दुःखद् भएको उनको भनाइ छ। विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनैै पनि कार्यकर्ता नेतृत्वबाट अपमानित भएर बस्न नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।