काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन्। मंगलबार साँझ सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूसँग शीतल निवासमा भएको छलफलमा राष्ट्रपति भण्डारीले दलहरूबीचको आपसी संवाद, सहकार्य र एकता रही आएकाले यसलाई अझ पनि निरन्तरता दिनुपर्ने धारणा राखेकी हुन्।
संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ। 'हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रही आएको छ। यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ। यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ,' उनले भनिन्।
दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतलनिवासमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी भएका थिएनन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू श्री महन्थ ठाकुर र श्री उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित थिए।
गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि उपस्थित थिए।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि कार्यक्रममा उपस्थिति थियो। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता श्री प्रेम सुवालको पनि उपस्थिति थियो ।
दलहरुका बीचमा प्रतिनिधि सभा विघटनपछि दूरी बढ्दै गएपछि भण्डारीले सर्वदलीय बैठक राखेकी हुन्। प्रतिनिधि सभा विघटनका लागि सरकारले गरेको सिफारिस अनुमोदन गर्दा कसैसँग परामर्श नगरेको भनी आलाेचना खेपेकी राष्ट्रपतिले सरकारलाई अप्ठेराे परेपछि सर्वदलीय बैठक बोलाएकी हुन्।
कोभिड-१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे चर्चा गर्दै अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गरेकी थिइन्।
राष्ट्रपतिज्यूले बंगलादेशका राष्ट्रपतिबाट ढाकामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेकोसमेत जानकारी गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।