फाइल तस्बिर।
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षप्रति आक्रोश र चेतावनी व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा आयोजित आफूनिकटका केन्द्रीय सदस्यको चियापान समारोहमा सम्बोधन गर्दै उनले नेपाल पक्षले बोलाएको भेलाका आयोजकहरुलाई कारबाहीको चेतावनी पनि दिएका छन्।
'उहाँहरु (माधव नेपाल पक्ष) ले भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे। समानान्तर कमिटीहरु बनाउने रे। समानान्तर होइन, अर्को कमिटी बन्ला। कसैले पनि अर्को पार्टी बनाउँछ कि कमिटी बनाउँछ कि, के गर्न सकिन्छ र? तर, एउटै पार्टीमा बसेर अब उपरान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलता जस्ता कुराहरु, विधिविधान विपरीत, एकता विरोधी क्रियाकलापहरुमा छुट हुने छैन। ती कुराहरु मान्य हुन सक्दैन। हामी सहेर बसिरहन सक्दैनौं। अचाक्ली भयो', ओलीले भने, 'पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने, जहिले पनि भाँडभैलो, यो कुरा चाहिँ हुन सक्दैन।'
उनले भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई पनि सजग गराए। 'नेकपा एमालेसँग आबद्ध सम्बद्ध नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सजग र सचेत गर्न चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। र, त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम कार्यकर्ताहरुलाई पनि आग्रह गर्न चाहन्छु', उनले भने।
ओलीले माधव नेपाल पक्षले भोलि गर्न लागेको राष्ट्रिय भेलाप्रति पनि नजर राखिने चेतावनी दिए। 'अझै केही समय बाँकी छ। भोलिको भेला गर्नुहुन्छ कि हुन्न र कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यतातिर लगाइन्छ', उनले थपे, 'पार्टीलाई धम्क्याएर र घुर्क्याएर ठेगान लगाउँछु भन्ने ठानेको छु भन्ने सोचेको छ भने त्यस्तो होइन। पार्टी विधान र तरिका अनुसार चल्छ। नचाहिने कुराहरुका अगाडि लत्रिने कुरा छैन। सत्यसँग नलड्ने, निहुँ खोजाहाहरुसँग नझुक्ने। हाम्रो नीति त्यही हो।'
ओलीले अनुशासनहीन हुनेहरुलाई पार्टीको विधान, देशको कानुन, संविधान, संसद् नियमावली, दल सम्बन्धी कानुन भएको कुरामा ध्यानाकर्षण गराए। उनले आफ्ना अहम् तुष्टिका लागि, अहंकारका लागि मनपरी गर्दै हिँड्न कसैलाई पनि छुट नहुने प्रष्ट पारे।
ओलीले माधव नेपाल पक्षलाई संकेत गर्दै पार्टीमा आउन पाइने, काम गर्न पाइने भए पनि आत्मालोचना गर्नुपर्ने र सच्चिएर काम गर्नुपर्ने बताए। 'तर, फेरि उही धन्दा र सिलसिला चाहिँ चल्दैन। हिजोकै झैं तमासा बनाउने, जग हँसाइ गर्ने, अनि सञ्चार माध्यमहरुलाई खेति दिने, बिजनेश दिने खालको कुरा हुन सक्दैन', उनको चेतावनी थियो।
उनले माधव नेपाल पक्षलाई एकथरी अनुहारका साथीहरु भन्दै उनीहरु चियापानमा नदेखिएको चर्चा गरे। 'हिजो बेलुका मैले सुनें, बैठक बसेर निर्णय गर्नुभयो रे-पार्टीको चियापानमा नजाने रे। कसको चियापानमा, कसको चियापान भए जानुहुन्छ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ? हुन त सबैलाई थाहा छ, तर नभनौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।