काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको बताएका छन् ।
यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए ।
विभिन्न नेताले एमाले परित्याग गरेको सन्दर्भलाई लक्षित गरेर सामाजिक सञ्जालमार्फत उनले धैर्यता गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्– 'हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११ औ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौ । हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, संचारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण भएको छ । आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ ।'
भट्टराईले थप भनेका छन्– 'हामीले पार्टीको अन्तरसंधर्षमा आस र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौ । म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नु तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु । हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थनप्राप्त गरेको छ र निकट भविष्यमै पार्टीपंतिबाट पनि अनुमोदन हुनेछन् ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।