काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको औचित्य अब पुष्टि हुने बताएका छन्।
मंगलबार आफूनिकटका केन्द्रीय सदस्यको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुन:स्थापित संसदमा असहज परिस्थिति बनेको बताए। संसदको पहिलो दिन नै अध्यादेश पेश गर्न नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय केन्द्रीय सदस्यहरूको चियापान कार्यक्रम छ। कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। तर, सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरिदिएको थियो।
सर्वाेच्चकै फागनु २३ गतेको फैसलाले नेकपा नाम ऋषिराम कट्टेललाई दिँदै साविकको एमाले र माओवादी केन्द्र ब्युत्याँदिएको थियो। त्यसपछि दुवै पार्टी अलग अलग भएका छन्।
एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै भेला गर्दै आएका छन्।
एमालेका दुवै समूहबीच सोमबार धुम्बाराहीमा छलफल भएपनि कुनै निष्कर्षमा पुगेको थिएन। नेपाल पक्षले बुधबार र बिहीबार कामठाडौंमा राष्ट्रिय भेला बोलाएको छ।
सोमबारको छलफलमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय फिर्ता लिए भेला रोक्ने बताएको थियो। तर, प्रधानमन्त्री ओली नेपाल पक्षको प्रस्तावमा सहमत भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।