काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैँक)ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ। एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका-९ हाकिमचोकमा शाखा संचालनमा ल्याएको हो।
सोमबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले हाकिम चोक शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड हस्तान्तरण गरेको छ। क्यूआर कोड हस्तान्तरण गर्दै अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झन्डै २० हजार निजी व्यवसायीहरु रहेको र उनीहरु सबैसँग सहकार्य गर्न सकिने धारणा राखे।
यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैँक तथा वित्तिय सेवाबीचको सम्बन्ध तथा उद्यमशिलता प्रवर्द्धनका बैंकको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे।
बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर छन्। यस्तै देशभर १०७ एटिएम सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।