काठमाडौं- नेपालमा छयाङ्कन गरिएको नेपाली चलचित्रकी पहिलो नायिका हुन् भुवन थापा चन्द। उनी नेपालकी पहिलो अभिनेतृको रूपमा पनि परिचित छिन्। उनले ‘आमा’ चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी थिइन्।
भुवनको रूचि सानै उमेरदेखि नै अभिनयमा थियो। पहिलोपटक अभिनयका लागि स्टेजमा उत्रिँदा उनी चार वर्षकी मात्रै थिइन्। त्यतिबेला उनले बालकृष्ण समको नाटक ‘अन्ध बेग’ मा अभिनय गरेकी थिइन्। त्यहीबाट सुरू भयो भुवनको अभिनय यात्रा।
उक्त नाटक सम आफैंले निर्देशन गरेका थिए। अभिनय यात्राको सुरूआती दिन सम्झँदै उनले भनिन्, ‘मैले स्टेज चढेर अभिनय थालेको वि.सं. २०१० देखि हो।’
त्यसयता भुवनको अभिनय यात्रा निरन्तर रह्यो। विभिन्न चरित्रमा अभिनय गर्दै उनले यस क्षेत्रमा ६ दशक बिताइसकेकी छन्।
परिवारको चाहना गायिका, तर बनिन् नायिका
भुवनका बाबु उस्ताद थिए। त्यसैले उनी गीत गाउँथिन्। तीन दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी उनलाई घरपरिवारबाट अभिनयमा लाग्न खासै सहयोग थिएन। परिवारका सदस्य भुवन पनि गायिका नै बनुन् भन्ने सोच्थे। तर, स्टेज चढिसकेपछि उनलाई गायनमाभन्दा अभिनयमै रस बस्यो।
स्टेजमा अभिनय गर्दागर्दै उनी राष्ट्रिय नाचघरको जागिरे भइन्। ‘त्यो बेलामा हामीलाई नाचघरले महिनाको १५० रूपैयाँ तलव दिन्थ्यो। हामी हरेक ठाउँमा स्टेज कार्यक्रम गर्दै हिँड्थ्यौं,’ भुवनले सुनाइन्।
त्यही समय तत्कालीन राजा महेन्द्र शाहले चलचित्र बनाउन रूचि देखाए। चलचित्र निर्माण गर्नकै लागि महेन्द्रले भारतीय चलचित्र निर्देशक हिरासिंह खत्रीलाई नेपालमा झिकाए। हिरासिंह केही प्राविधिकलाई साथमा लिएर नेपाल आए, फिल्म खिच्न।
नेपाल त आए, तर अभिनय गर्ने कलाकार खोज्नु उनका लागि चुनौतीको विषय थियो। त्यो क्षण सम्झँदै भुवनले भनिन्, ‘गोरखापत्रमा फिल्म खेल्नका लागि सूचना निकालेको थियो रे! तर कोही मान्छे गएनन्। अन्त्यमा नाचघरका कलाकार सबैले अनिवार्य अन्तर्वार्ता दिनुपर्ने भन्ने उर्दी जारी भयो।’
त्यही उर्दीको पालना गर्दै भुवन, चैत्यदेवी, बसुन्धरा भुसाललगायत नाचघरमा कार्यरत कलाकारहरू अन्तर्वार्ता दिन पुगे। त्यो समयमा अहिलेजस्तो फिल्मका लागि अडिसन दिने, कास्टिङ कल गर्ने जस्ता शब्द प्रयोगमा आइसकेका थिएनन्। भुवनले भनिन्, ‘फिल्म खेल्नका लागि अन्तर्वार्ता दिने भनिन्थ्यो।’
अन्ततः अन्तर्वार्ताबाट चलचित्रका लागि भुवन छानिइन्। उनीसँगै नाचघरबाट अन्तर्वार्ता दिन पुगेका सबैले सानातिना भूमिका पाए। अन्तर्वार्ता दिन गएकाहरू कोही पनि असफल भएर निस्केनन्।
‘आमा’ चलचित्रमा अभिनय गर्दा उनी भर्खर १४ वर्ष मात्रै पुगेकी थिइन्। स्टेजमा नाटक गरिरहेकी भुवनले ‘आमा’ चलचित्रमा गरेको अभिनयलाई सबैले मन पराए। त्यो समयमा राजारानीलाई लक्षित गरेर चलचित्र बनाइन्थ्यो। त्यसैले उनको अभिनयलाई राजा महेन्द्रले निकै राम्रो माने। ‘आमा’ रञ्जना हलमा लागेको थियो।
चलचित्रमा खेलेबापत राजाको बक्सिस र स्याब्बासी पाइन् भुवनले। तर, अहिलेजस्तो पैसा भने पाइनन्। उनको पैसा नाचघरले दिने तलवमै सीमित रह्यो।
अहिलेको अवस्थाबारे भुवनले भनिन्, ‘त्यतिबेला त फिल्म खेल्न पाउनु नै भाग्यको कुरा थियो, तर अहिले व्यावसायिक बनेको छ। लाखौं रूपैयाँ पारिश्रमिक माग गर्न सक्ने कलाकार जन्मिसकेका छन्। यो खुसीको कुरा हो।’
त्यो समयमा नायिकालाई हेर्ने समाजको दृष्टिकोण राम्रो थिएन। मानिसहरू नायिकाले नौटंकी गरेर पैसा कमाएको, अरूलाई मनोरञ्जन दिलाएर कमाएको पैसाले परिवार पालेको जस्ता कुरा गर्दै नाक खुम्च्याउँथे। तर, ती सबै कुरासँग भुवन लडिन्। त्यही संघर्ष र लडाइँले नै आफूलाई अहिलेको अवस्थामा पुर्याएको उनी बताउँछिन्।
त्यही समयमा भुवनले प्रेम विवाह गरेकी थिइन्। रेडियो नेपालमा अंग्रेजी समाचार पढ्ने माइकल चन्दसँग उनले प्रेम विवाह गरेकी हुन्।
नयाँ पुस्ताले बिर्सिए
यति धेरै दुःख र संघर्ष गरेको चलचित्र क्षेत्रले अहिले उनलाई खासै चिन्दैन। न त नयाँ आउने पुस्ताले सम्मान नै गर्छ। भुवन भन्छिन्, ‘म भारतमा जस्तो मेरो खुट्टा ढोग भन्दिनँ, तर हामी बोलिरहेको बेला कुरा सुनिदेऊ मात्रै भन्छु।’
नयाँ पुस्ताले बिर्संदा नरमाइलो लाग्ने गरेको उनले सुनाइन्। आजभोलि बन्ने चलचित्रसँग पनि उनी खासै सन्तुष्ट छैनन्। त्यसबेला मुखको अभिनय आँखाबाट हुन्थ्यो। चलचित्रमा कथा, संवाद र अवस्थाको संयोजन हुन्थ्यो। तर, अहिलेका चलचित्रमा यी कुराको कमी रहेको उनी औंल्याउँछिन्। चलचित्रमा कथा नै नभएपछि अभिनय गर्न नसकिने भुवनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।