केटा : एउटा कुरो सुनेर आइयाछ
सुनेको थें, खेतालो चाइया छ।
केटी : धेरै फूर्ति नलाउ भो हेर
माथि माथि हिँड्छौ रे जोतेर।
केटा : घरमा आउन मैले आँट गरेँ
डल्ला फोर्ने काम बाँकी छ अरे।
केटी : मेरा बुढा आँटिलो थिए
बुढाले नै ठोकेर सक्दिए।
माथिको दोहोरी गीत प्रयास नेपाल नामको युट्युबमा च्यानलबाट प्रसारण गरिएको छ। जसको शीर्षकमा ‘पहिलो पटक गाए कलाकारले यस्तो छाडा दोहोरी’ लेखिएको छ। भिडियो सुरु हुनुभन्दा अघि भने यो दोहोरी कृषि पेशाप्रति लक्षित छ, अन्यथा नसोचिदिनुहोला लेखिएको छ।
अर्को उदाहरण हेरौं :
पहिलो केटा : हे बापतीका सन्तानहरुले गुमाका छन् होस
मेरो थारी बुढी ब्याउने भयो भने, तिम्लाई जान्छ दोष
त्यो दिन बसेछौ सँगै, सँगै हुँदा पार्यौ कि चंगै
दोस्रो केटा : तेरै बुढी छुम्ला मैले नपाएर अरु
बाउ बन्ने रहर छ भने खेताला खोज् बरु
बाउ बन्ने भाग्यमा छैन, यस्ताले केही सोच्ने हैन
माथिको गीत भने दुई पुरुषहरु बीचको दोहोरी हो। यसलाई 'भाले दोहोरी'को नाम दिइएको छ। साथमा दुवैतिर महिला बसेका छन्। भिडियोको अन्त्यमा वकिल र मेयरले दाजुभाइको झगडा मिलाएका छन्। दुई पुरुषबीच सुन्नै नसकिने शब्दहरुमा दोहोरी परिरहेको छ। दोहोरीको झगडामा पाच्य नहुने शब्दको प्रयोग प्रसस्त मात्रामा छ। खुलदुली दोहोरी घरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई ‘भाले दोहोरी, अर्काका स्वास्नी नछाड्ने भालेहरु, नहाँसी सुखै छैन’ शीर्षक दिइएको छ।
यी र यस्ता दर्जनौं दोहोरी युट्युबमा देख्न सकिन्छ। यस्ता गीतको भ्युज हेर्ने हो भने, लाखौंको अंकमा छन्। प्रतिक्रिया पनि त्यस्तै छन्। अधिकांशले ‘निकै रमाइलो, सन्देशमुलक, हाँसेर मर्न लागें’ जस्ता प्रतिक्रिया दिएका छन्।
यी र यस्ता दोहोरी सुन्ने हो भने, दुर्गेश थापाको तीज गीत खासै आपत्तिजनक लाग्दैन। उनले प्रयोग गरेको ‘ख्याँस्स पुतली’ शब्द स्थानीयस्तरमा प्रयोग भइरहने शब्द हो। यदि आपत्ति नै जनाउने हो भने, अरु गीतलाई पनि बहिस्कार गर्नुपर्ने बताउँछिन् लोक गायिका मीना खत्री।
खत्रीले भनिन्, ‘तीज गीतको छुट्टै लय थियो। गाउने तरिका पनि फरक थियो। पुरुषले तीज गीत गाउँदा विकृति आयो भन्ने समाजले त्यो पचाइसक्यो। समय परिवर्तन भएसँगै तीजका गीत पनि परिर्वतन भएका छन्।’
खत्रीका अनुसार नयाँ कुरामा बानी परेकाले पुराना कुरा हामीलाई अपच भएको हो। पहिले ‘ख्याँस्स पुतली’ जनजिब्रोको शब्द भएपनि अहिलेको समाजले त्यो शब्द पचाउन छाडेकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ।
गायिका खत्री भन्छिन्, ‘त्यस्ता छाडा दोहोरी गाउनेलाई प्रतिष्ठानले केही गरेको छैन। दुर्गेशलाई मात्रै बहिस्कार गर्ने अधिकार कसले दियो?’
विवादमा दुर्गेश मात्रै किन !
‘मलाई मात्रै लोक तथा दोहोरी गीत प्रष्तिष्ठानले बहिस्कार गर्यो, तर यो कुरा त मैले मेरा अग्रजबाटै सिकेको हो नि!’ दुर्गेशको दुखेसो छ। त्यसो त उनी यस्तै विवाद मच्चाएर चर्चामा आएका गायक हुन्। मोडल बन्न राजधानी छिरेका उनी ‘झुक्किएर’ बनेका गायक हुन्।
दुर्गेश, तिहारको समयमा ‘चिसो बियर’ बोलको गीत गाएर पुलिसको खोरमा समेत पुगेका थिए। तर, केही समय अघिमात्रै भाइरल बनेको ‘चिसो चिसो पानी झर्नाको, चढ्छ मज्जाले स्वाद अर्नाको’ गीतमा भने कुनै बन्देज लगाइएन। जुन गीतमा अर्ना नामको बियरको बोतल बोकेका लाखौं टिकटक भिडियो देख्न सकिन्छ।
अहिले पनि यतिधेरै छाडा दोहोरी गाउने कार्यक्रम खुलेआम चलिरहेको छ। तर, लोक तथा दोहोरी गीत प्रतिष्ठानको आँखा दुर्गेशको ‘ख्याँस्स पुतली’ शब्दमा मात्रै पर्नु रहस्यमय भएको बताउँछन्, लोक गायक कुशल थापा।
आफू मात्रै किन बहिस्कारमा भन्ने प्रश्न दुर्गेश स्वयंले पनि सामाजिक सञ्जालमार्फत् उठाएको उठायै छन्। उनले प्रयोग गरेको शब्दलाई आपत्ति मान्ने हो भने, अग्रजका धेरै गीतहरु छन् जसलाई बहिस्कारको सूचीमा राख्न जरुरी हुने दुर्गेशले भनेका छन्।
अहिले पनि अन्य कलाकारको आपत्तिजनक गीत बहिस्कार गरिन्छ भने, आफू पनि गीत युट्युबबाट हटाउन राजी भएको दुर्गेशले बताएका छन्। यति धेरै विवादमा परौंला भन्ने नसोचेको बताउँदै बहिस्कारमा पर्ने कुनै कारण नभएको उनको दाबी छ।
दुर्गेशले पहाडी भेगमा गाउने तीजको लयलाई समाएर, परिमार्जनसहित गीत निकाल्दै आएका छन्। उदाहरणका लागि पहिले आमाहरुको पालामा गाउने गीत यस्तो थियो :
अरु देशका नारीहरु पुगिसके चन्द्रमा
हाम्रा देशका नारीहरु मस्त निन्द्रामा
अंग्रेजीमा भन्दा रैछन् पानीलाई वाटर
नबुझेर दिएँ मैले काँचो कटहर
अहिले दुर्गेशले परिमार्जन गरेर बनाएको तीज गित यस्तो छ :
हाम्रा बाले पाका छोरी रकेट चढी चन्द्रमा
तेरा बाले पाका छोरी मस्त निन्द्रामा
पोहोर परार नाच्यौ दिदी रातो साडी उचाली
यो पालीको तीज बरै ख्याँस्स पुतली।
राज्य र दर्शक जिम्मेवार
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक प्रजापति पराजुली, लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग दुर्गेशलाई बहिस्कार गर्ने अधिकार नभएको बताउँछन्।
उनले भने, 'हामीले म अध्यक्ष भएकै समयमा राष्ट्रसँग लोक दोहोरीको सेन्सर गर्ने अधिकार मागेको थियाैं। त्यो बेलामा पनि लोक गीतमा विकृति विसंगति थिए। तर, राजयले त्यो अधिकार दिएन। अहिले पनि बहिस्कार गर्ने अधिकार प्रतिष्ठानलाई छैन।'
त्यसको अलवा, प्रतिष्ठान स्वयंले भने आजीवन सदस्यता दिन नमिल्ने गरेर सदस्यता रद्द गर्न भने पाउने उनको भनाइ छ। दुर्गेशका जस्ता गीत र अश्लील दोहोरी मौलाउनुको दोष भने दर्शक र राज्यलाई लगाउँछन्, गायक पराजुली।
आफैं निर्णायक रहेको कार्यक्रमको उदाहरण दिँदै उनले भने, 'नेपाल टेलिभिजनबाट दोहोरी च्याम्पियन भन्ने दोहोरी कार्यक्रम पनि आउँछ। त्यहाँ अश्लीलता भेट्टाउनुभएको छ भने भन्नुस्।'
दर्शकले आँखा अश्लीलतामा डुलाउने, च्यानलवाला पैसाको लोभमा छाडा दोहोरी हाल्ने साझेदारीकै कारण दोहोरीमा विकृति भित्रिएको उनको बुझाइ छ। यसको अलवा राज्यले पनि सेन्सर बोर्ड स्थापना गर्नुपर्नेमा पराजुलीको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।