काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बिना निष्कर्ष टुंगिएको छ। बैठक केही दिनका लागि स्थगित भएपनि पछिल्लो राजनीतिक घटनक्रमलाई निकास दिन पार्टीको जिम्मेवारी आएकाले केही दिन बैठक स्थगित गरिएको नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सोमबारको बैठकमा २० जना नेताहरूले धारणा राखेका थिए। 'क्रान्तिकारी पार्टी निर्माणको कोणबाट अघि बढ्नुपर्छ। पार्टीलाई सामूहिक रूपमा चलाउन दृढ हुँदै कमी कमजोरी सच्याएर जानुपर्ने अधिकांश कमरेड साथीहरूको भनाइ छ,' बैठकपछि बाहिरिनेक्रममा नेता नारायणकाजी श्रेष्ठले भने।
आफूहरूले सर्वोच्च अदालतको पछिल्लो आदेश (नेकपा एकता अवैधानिक भएको)को पुनरवलोकन गर्ने बताएका श्रेष्ठले बताए। उनले अन्य दलसँग छलफल वर्तमान राजनीतिक संकटलाई टुंगोमा पुर्याइने समेत बताए। 'राजनीतिक परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्न अन्य दलसँग छलफल गर्नेछौँ,' उनले भने, 'राजनीतिक अवस्थालाई टुंग्याउनुपर्ने। सांगठनिक काममा जानुपर्ने भएकाले पनि केही दिन बैठक स्थगित गर्नुपरेको हो।'
प्रदेश कमिटीका इन्चार्ज र अध्यक्षहरूसहित केन्द्रीय कमिटीका सदस्यहरूले धारणा राखेको बैठकमा अधिकांश नेताहरूले कम्युनिस्ट एकतामा जोड दिएका थिए।
आइतबार प्रदेश इन्चार्ज र अध्यक्षहरूले धारणा राखेका थिए भने सोमबारको बैठकमा जनार्दन शर्मा, वर्षमान पुन, दलजित श्रीपाइली, हितबहादुर तामाङ, रामचन्द्र झालगायतले धारणा राखेका थिए। बैठक केही दिनपछि पुनः निरन्तर हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।