तस्बिर स्रोत : विष्णु रिजाल।
काठमाडौं- नेकपा (एमाले) विभाजनउन्मुख भनेर विश्लेषण भइरहेका बेला पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। पार्टी कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दुवै पक्षका गरी एक दर्जन नेताहरु सहभागी भएका हुन्।
छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्। त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका छन्।
सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएपछि एमालेका दुवै पक्षबीच अविश्वास बढेको थियो। ओली पक्षले गत शुक्रबार आफू पक्षको केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी एक पक्षीय निर्णय गरेपछि अविश्वास झनै बढेको थियो।
ओली पक्षसँग दूरी बढेकै कारण नेपाल पक्षले बेग्लै बैठक गर्दै आएको छ। सो पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला समेत बोलाइसकेको छ। ओली पक्षले भने ७ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बैठकमा सहभागी हुन ओलीले नेपाल पक्षलाई सार्वजनिक रुपमै अपील गरेका थिए। बैठकमा सहभागी नभए विधान अनुसार गर्ने भनेर कारबाहीको चेतावनी समेत दिएका थिए।
पार्टीभित्रको अविश्वास घटाउने र एकीकृत पार्टी बनाउन भन्दै दोस्रो तहका केही नेताले प्रयास गर्दै आएका थिए।
नेपाल पक्षले भने प्रधानमन्त्री निवास बालुवाटार र कुनै नेताको निजी निवासमा हुने छलफलमा भाग नलिने अडान लिएको थियो। उसले पार्टी कार्यालयमा हुने छलफलमा मात्र सहभागी हुने बताएको थियो। सोही अनुसार आज बालुवाटारमा तय गरिएको कार्यक्रम धुम्बाराही सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।