काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' कानुनी विषय ख्याल नगर्दा राजनीतिक रुपमा मात्र जित हात पारेको बताएका छन्।
एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनाउँदा कानुनी विषयमा ख्याल गर्न नसकिएको उनले बताए। माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित केन्द्रीय समिति बैठकमा उनले कानुनी विषय ख्याल नगर्दा अहिलेसम्म प्राप्त उपलब्धीमा समेत असर परेको बताए।
‘प्रतिनिधि सभा विघटनमा राजनीतिक रुपमा जित्यौं तर, कानुनी रुपमा हामी चुक्यौं’ दाहालले बैठकमा भने ‘विधान र अरु व्यवस्थामा हामीले कमजोरी गर्याैं। हामीले कानुनी रुपमा अहिलेको अवस्था आउला भन्ने कुनै आकलन नै गरेनौं। नेकपा नाममा पनि यही कमजोरी भयो।’
नेकपा नाम राख्दा यो राजनीतिक विषय हो मिलिहाल्छ भनेर गएको तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यसैमा खेलेको उनको ब्रिफिङ थियो। बैठक सकिएलगत्तै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले धेरै खराबबाट कममा आइपुगेको बताए।
‘अहिलेको स्थिति अझै पनि राम्रो छैन’ उनले भने, ‘हाम्रो संगठनमा उत्साहजनक छैन। ओलीसँग रहँदा खराब थियो। अब अलिकलि राम्रोमा आएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।