काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बसेको हो। बैठकमा देशको समसामयिक राजनीतिक परिदृश्यबारे छलफल गर्ने केन्द्रका नेता देवेन्द्र पौडेलले बताए।
बैठकमा एमालेतिर लागेर जिम्मेवारी पाएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायत विषयमा छलफल हुने उनले बताए।
बैठकमा पार्टीको नाम परिवर्तन र संगठनको अवस्थाका विषयमा कार्यदलले प्रस्ताव पेश गर्ने समेत बताइएको छ। कार्यदलमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र पम्फा भुसाल थिए। फागुन २५ मा गते बसेको स्थायी कमिटी बैठकले पार्टीको नाम परिवर्तन र सांगठनिक अवस्थाबारे प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो।
हिजोको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। माओवादीबाट रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन् ।
थापासहित २३ नेतालाई शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।