न्युयाेर्क– राष्ट्रपति जो वाइडेनको प्रशासनले म्यानमारका नागरिकलाई अमेरिकाले बस्न अस्थायी अनुमति दिने भएको छ। म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो।
‘सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौं,’ गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने। अमेरिकामा बसोबास गरिरहेका म्यानमारका नागरिकलाई अस्थायी निर्वासन राहत र वर्क परमिटसमेत दिने उनले जानकारी दिए।
‘म्यानमारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले देश छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,’ उनले भने।
यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए। अमेरिकामा १६ सय बर्मेलीहरू गैरकानुनी रुपमा बसिरहेका छन्। उनीहरुले पनि १८ महिनाको लागि अस्थायी संरक्षण सुविधा (टीपीएस) पाउने छन्।
यसले आप्रवासीहरूलाई सहयोग पुर्याउँछ जुन उनीहरूको देशहरूमा सुरक्षित रूपले फर्केर जान सक्दैनन्, प्राकृतिक प्रकोप वा सशस्त्र द्वन्द्वबाट बिस्थापित भएका छन् त्यस्ता नागरिक अमेरिकामा कानुनी रूपमा रहन र काम गर्ने सक्ने छन्।
म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन्।
फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन्।
करिब सयजना म्यानमारबाट भागेर भारत प्रवेश गरेका छन्, जसमा अधिकांश प्रहरी र उनीहरुका परिवार छन्। भारतमा शरण लिएकामध्ये केहीलाई मिजोरमको चाम्फाइ जिल्लामा राखिएको छ।
भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन्। त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।