नयाँदिल्ली– म्यानमारमा सेनाले ‘कू’ गरेपछि भागेर भारत पसेका प्रहरी अधिकारीले प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्ने गरेको खुलासा गरेका छन्। रोयटर्सका पत्रकारले अन्तर्वार्ता दिँदै भारतमा शरण लिन आइपुग्ने बर्मेली प्रहरी अधिकारीमध्ये एक था पेङले आफूहरु सेनाको पक्षमा नरहेको बताएका हुन्।
सैन्य ‘कू’पछि जागिरबाट राजीनामा दिएर मिजोरममा शरण लिन आइपुगेका २७ वर्षीय पेङले सरकारविरुद्ध उत्रिने प्रहरी अधिकारीलाई नेतृत्वको खाँचो रहेको समेत बताउँछन्। ‘प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्छन् तर उनीहरुलाई नेतृत्व गर्ने मान्छेको खाँचो छ’, पछिल्लो ९ वर्षयता प्रहरीमा काम गर्दै आएका पेङ भन्छन्।
उनका अनुसार ६ जना प्रहरीले सेनाको आदेश उल्लंघन गरेका थिए। उनीहरुले मिजोरमको प्रहरीलाई बुझाएको संयुक्त विज्ञप्तिमा म्यानमारको अहिलेको अवस्थामा जनतामाथि आफूहरुले गोली चलाउन नसक्ने भएकाले शरण खोज्दै आएको उल्लेख गरेका छन्।
‘२७ फेब्रुअरीमा खाम्पाट सहरमा निस्किएको प्रदर्शनमा सहभागीहरुमाथि गोली चलाउने आदेश दिइएको थियो। तर हामीले उक्त आदेश मानेनौं। अर्को दिन एक अधिकारीले मलाई गोली हान्ने आदेश दिएका थिए। आदेश पुनः अस्वीकार गर्याैं र राराजीनामा दियाैं,’ उनले भने।
उनका अनुसार म्यानमारको प्रहरीको नियममा प्रदर्शनकारीहरुलाई तितरबितर पार्न रबरको गोली प्रयोग गर्न पाइन्छ। ‘प्रदर्शन नियन्त्रणमा नआए घुँडाभन्दामुनि गोली प्रहार गर्न पाइन्छ। तर अहिले नमर्दासम्म प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको छ, जुन मानविय कार्यभन्दा विपरीत छ,’ पेङले भने।
फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन्।
पेङ आफ्नी पत्नी र दुई साना छोरीहरुसँगै भारत छिरेका थिए। उनी मार्च १ मा उनले खाम्पटमा रहेको आफ्नो घर छाडे र परिवार लिएर तीन दिनसम्म यात्रा गरेर भारत आइपुगेका हुन्।
‘मसँग कुनै विकल्प थिएन। प्रदर्शनकारीको सहयोग गरेको भन्दै पक्राउ पर्ने डरले हामी देश छाड्न बाध्य भयौं। कसैले नदेखोस् भन्नका लागि हामी रातको समयमा यात्रा गर्थौं। मिजोरमको भारतीय सीमा पार नगर्दासम्म हामी लुकीलुकी यात्रा गरेका थियौं,’ उनले भने।
आफूले म्यानमारका रहेका आफ्ना परिवारका अन्य सदस्यसँग बिछोड भए पनि आफू पुनः म्यानमार फर्किन नचाहेको उनी बताउँछन्।
पेङजस्ता करिब सयजना म्यानमारबाट भागेर भारत प्रवेश गरेका छन्, जसमा अधिकांश प्रहरी र उनीहरुका परिवार छन्। भारतमा शरण लिएकामध्ये केहीलाई मिजोरमको चाम्फाइ जिल्लामा राखिएको छ।
भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन्। त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको भारतीय अधिकारीहरु बताउँछन्।
मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले आफ्नो प्रशासनले अस्थायी रुपमा म्यानमारबाट आएका मानिसहरुलाई खाना र आवासको व्यवस्था गर्ने बताए। यद्यपि उनीहरुको विषयमा थप निर्णय भने केन्द्रको निर्देशनअनुसार गरिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।