काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जनता समाजवादीका नेता महन्थ ठाकुर र डा बाबुराम भट्टराईलगायत नेता पेरिसडाँडा पुगेका छन्। शनिबार बिहानै दाहाललाई भेट्न उनीहरू पेरिसडाँडा पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने तथा सत्ता समीकरणमा सहकार्य गर्ने विषयमा छलफल गर्न उनीहरु भेला भएका हुन्।
छलफलमा जसपाका ठकुर तथा भट्टराईसँगै उपेन्द्र यादव, अशाेक राई तथा राजेन्द्र महताे सहभागी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुसाललगायत सहभागी रहेकाे एक नेताले बताए।
बिहीबार बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक समस्या समाधानका विषयमा प्रमुख दलसँग क्रमशः शीर्ष तहमा छलफल गर्ने निर्णय गरेको छ।
सत्ता समीकरणको केन्द्रमा रहेको जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।